Advertisement

लिग-२ का अविश्वसनीय प्रदर्शन, एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा, अनि टी-२० विश्वकपमा विश्वकै ध्यान तान्ने खेल । मोन्टी देशाईको मुख्य प्रशिक्षण र रोहितकुमार पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको पछिल्लो डेढ वर्ष साँच्चै लोभलाग्दो रह्यो ।

नेपाल क्रिकेट संघले कात्तिक २०७९ मा कात्तिकमा २० वर्षका रोहितलाई कप्तान बनाएको थियो भने माघमा देशाईलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्यायो ।

असम्भव जस्तै बनेको ओडीआई मान्यता जोगाउने क्रममा नेपालले आईसीसी विश्वकप लिग-२ मा १२ मध्ये ११ खेल जित्यो । घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पायो । त्यसमा पनि विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध सर्ट बल र बाउन्सरको राम्रो सामना गर्दै २३० रनको योगफल बनायो ।

जेठ-असारमा भएको टी-२० विश्वकपमा एउटा पनि खेल जितेन । तर बलियो दक्षिण अफ्रिकालाई ११५ रनमा रोकेको नेपाल अन्तिम दुई बलमा दुई रन बनाउन नसकेर पराजित भएको थियो ।

Advertisement

‘विश्वकपसम्म हाम्रो यात्रा पूरा भयो’ क्रिकेट संघका सचिव समेत रहेका पूर्व कप्तान पारस खड्का भन्छन्, ‘नयाँ भिजन, नयाँ योजना र नयाँ सोचका साथ फेरि शून्यबाट सुरुवात गर्नुपर्छ ।’

शून्यबाट हुने नयाँ यात्राको गन्तव्य नम्वर वान एसोसिएट टिम, अनि टेष्ट नेशनको मान्यता पाउनु हुनेछ ।

Advertisement

त्यसक्रममा महत्वपूर्ण दुई प्रतियोगिता आउनेछ, २०२६ को टी-२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकप ।

२०२६ को टी-२० विश्वकप खेल्न नेपालले सम्भव त एसिया क्षेत्र अन्तिम चरणको शीर्ष तीनमा स्थान बनाउनुपर्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ निर्णय अनुसार एसिया प्यासिफिकको अन्तिम चरण एसियामा गाभिएको छ । एसिया छनोटको अन्तिम चरणबाट तीन टोली विश्वकपमा पुग्नेछन् ।

तर कुन मोडलमा खेलाउने आईसीसीले तय गरेको छैन । यसअघि एसिया छनोट हुँदा फाइनलमा पुग्नु पर्थ्यो । एसियाबाट नेपाल, यूएई, ओमान, हङकङ, पपुवा न्युगिनी प्रमुख दाबेदार टोली हुन् ।

त्यसको अर्को वर्ष २०२७ मा एकदिवसीय विश्वकप हुनेछ । नेपालले अहिलेसम्म एकदिवसीय विश्वकप खेल्न सकेको छैन । यो पटक पनि एकदिवसीय विश्वकपको यात्रा सहज छैन ।