Advertisement

अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार ब्रिफिङ गरेका छन् ।

राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै बिहीबार १ बजे अधिकारीले अर्थमन्त्री पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् ।

‘गभर्नर अधिकारी मन्त्रीज्यूलाई भेट्न बिहीबार दिउँसो १ बजे आउनुभएको थियो । छोटो छलफल गरेर निस्कुनभयो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

व्यवस्थापन समितिको छलफल करिब सकिएको र विभागीय प्रमुखसँगको छलफल पछि अहिलेको मस्यौदामा केही परिमार्जन हुनसक्ने स्रोतको भनाइ छ ।

Advertisement

‘मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित हुन्छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको छ,’ राष्ट्रबैंक स्रोतले बतायो ।

मौद्रिक नीतिप्रति अपेक्षा धेरै नै रहेकोले सबैको समाधान मौद्रिक नीति हुन नसक्ने राष्ट्र बैंकका ती अधिकारीले बताए ।

Advertisement